गैरआवासीय नेपाली संघ
कृष्ण के सी/अमेरिका/८/७/१९
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर १३-१६, २०१९ काठ्माण्डौमा हुँदैछ। बढ्दै गएको चुनावी गर्मीमा भर्खरै सम्पन्न
भएको युरोपियन १२ औं बैठकले चुनावी बजारको मोड फरक दिशामा दिएको छ।
संघको युरोप क्षेत्रमा नेपाली काँग्रेसका समर्थकहरुको पक्कड बलियो छ। अमेरिकाज क्षेत्रमा बलियो त छ तर आपसी लुछातानीले गर्दा सधैं हार्नुपर्छ। ओसनिया क्षेत्रमा नयाँ अवस्थाको सृजना भएको छ। एशियाको हङकङले नयाँ चुनौती दिएको छ अरु नतिजा आउन बाँकी छ।
निर्वाचनको मुखैमा सम्पन्न भएको युरोपे बैठक पनि सम्पन्न भएको छ। बैठकमा सहभागी भन्दा पनि उम्मेद्वारहरुको प्रचार र कोठे बैठक धेरै चलेको खबर आएको छ। रसिया देखि आएका एक जना अभियन्ता त कोठा देखि बाहिर नै आएनन। थुप्रै एनआरएन नेताहरु बैठकमा भन्दा कोठा र निजि भेटघाटमा समय खर्चनामा व्यस्त भए।
अर्कोतर्फ नेपाली काँग्रेसको सोलो टीम र बामपन्थीहरुको टिमबीच चुनाव गर्नुपर्छ भन्नेहरुको नाराले पनि फेल खायो। अब भनिए अनुसार प्रचारित प्रजातान्त्रिक र बाम टिमबीच चुनाव नहुने भएको छ। एकातिर उम्मेदवार नै नपाएको अवस्था अर्कोतिर यो नारा आफैमा नसुहाउने भएकोले आकांक्षीहरु डराएको अवस्था छ। नारा एकातिर उम्मेदवार अर्कोतिर हुँदा बेमौसमी ढ्यांग्रो सावित भएको छ नारा अनि पुच्छर लुकाउँदै फर्केका छन् नारा लगाउनेहरु।
प्रजातान्त्रिक प्यानलमा आउने उम्मेद्वारहरुमा अध्यक्षमा कुल आचार्य, महासचिवमा जानकी गुरुङ र डा केशब पौडेल मध्ये एक मात्र आकांक्षी तयार भएका छन्। धेरै आकांक्षीहरुले यसरी उम्मेदवार हुन डराएको जानकारी दिए। बरु आफू स्वतन्त्र उठ्ने तर यसरी नजाने कुरा उनीहरुको थियो।
अर्कोतर्फ अध्यक्षका प्रतिस्पर्धी कुमार पन्तको टिममा पनि राजनीति गर्नु हुन्न भन्दा भन्दै पनि राजनैतिक समीकरण खोजिएको कुरा प्रष्ट रुपमा देखिएको छ। काँग्रेस समर्थक डा हेम राज शर्मा र महेश श्रेष्ठ जस्ता व्यक्ति छन्। यो क्रम बढ्दो छ र पछिल्लो समय लाइनमा बसेकाहरुको नाम हेर्दा यो टिममा बाम भन्दा काँग्रेस धेरै छन्। अब गैरआवासीय नेपाली संघमा राजनीति छैन भन्ने र राजनैतिक लडाइ लड्नुपर्छ भन्ने दुवै कुरा अब विफल देखिएका छन्।
तेश्रो र अत्यन्तै सफल कुरा भनेको संघमा योगदान र क्षमताका आधारमा आएकाहरुलाई मत दिएर जिताइदिने काम हो। यो धाराको सुरुवात भएको छ। यसलाई एकजना पूर्व अध्यक्षले संयोजन गर्ने कुराको अपुष्ट खबर आएको छ।
यो लेख लेख्दै गर्दा केहि व्यक्तिहरुसंग गरिएको सर्वेक्षणमा तीन कुरा पाइयो:
१. धेरै आकांक्षीहरु कुमार पन्तको तर्फ देखिए। पन्त तर्फका १० जना भन्द धेरैको लिष्ट प्राप्त भएको छ। अझै मैदानमा आउन बाँकी ओसनीया क्षेत्रका आकांक्षीहरु नै एक हप्ता पछि कुमार पन्तको तर्फ आउने कुरा प्रष्ट रुपमा पाइयो। पन्ततर्फ झन् काँग्रेसका दिग्गजहरु रहेको पाइयो। अगष्टको लाष्ट सम्ममा पन्तसँग सहकार्य गर्नेहरुको टिम नै खडा हुने भएको छ।
२. अर्कातर्फ प्रजातान्त्रिक टिममा जम्मा दुइजना मात्र आकांक्षी हुने भएका छन्। कुल आचार्य अध्यक्षमा, जानकी गुरुङ र डा केशब पौडेल मध्ये एकजना महासचिवमा, अरु उम्मेद्वार देखिएनन्। धेरैको भनाइ कुल आचार्यले अन्तमा पन्तलाइ छादिदिन्छन र हामी बिचल्लीमा पर्छौं भन्ने छ। बरु स्वतन्त्र लड्छौं तर ढोडको लौरो टेक्दिन भन्नेहरु धेरै भए। अधिकाँशलाइ कुल आचार्य अध्यक्षमा चुनाव लड्छन भन्ने कुराको विश्वास नै रहेनछ। यो टिमबाट सबै भन्दा खरो र प्रष्ट रुपमा आफ्नो कुरा राखेर उत्रेकी भनेको जानकी गुरुङ मात्र हुन्।
३. तेस्रो कुरा, काँगेस समर्थक र नेपाली काँगेस आफै सखाप पार्न अरु केहि गर्नु पर्दैन। चुनावमा जाने मात्र भन्नुपर्छ आफै-आफैमा लडेर सकिन्छन। गुट र उपगुट, घात, अन्तर्घात र प्रतिघात सबै एकैपटक निस्कन्छन। जनसम्पर्क समितिको तुस, काँग्रेस पार्टीको आगामी महाधिवेशनको सपोर्ट गर्ने पक्ष र विपक्ष, नेताका पाउ मल्ने छोटे राजनहरुको फाइफुट्टी सबै एकै पटक निस्कन्छन। अनि प्रजातान्त्रिक समूहमा भएका उम्मेद्वारहरुले बैतर्नी त के सानो कुलो पनि तर्दैनन। टिमको नाममा सबै सहिद हुन्छन, आउने ३/४ कार्यकाल निमिट्यान्न हुन्छन। यसलाई कमाण्डर कोठामा बसेर सिपाहीले नेतृव दिएको लडाई भन्नुपर्ला।
अघिल्लो अर्थात २०१७ को चुनावलाइ मैले नजिकबाट हेरेको छु। प्रष्ट रुपमा के भएको थियो मलाइ थुप्रै कुरा थाहा छ। कमि कहाँ भयो, बेइमानी कसले गरे, फाइदा कसले लिएर, दु:ख कसले पाए, सपोर्ट कसले गरे, सुटुक्क कसले के गरे त्यो वृतान्त मसंग छ। अब त्यो कुरा लेखेर मलाइ समय नष्ट गर्नु छैन। अनि यो पटक पनि ऐले नै ठोकुवा दिएर भन्न सक्छु कि हुनेवाला के हो भनेर। हुनेवालाको हिन्ट त दिएको छु तर त्यो कुरा भने अरु केहि ब्यक्त्तिहरुसँगको छलफल र थप जानकारी पछि लेख्नेछु। केहि दिन सम्म प्रतीक्षा गर्नुहोला।
https://hollywoodkhabar.com/index.php/democratic-left-kulpant